दसैँ बिदामा सौराहाका होटल भरिभराउ

न्भेष्टाेपेपर । कात्तिक ११, २०८०

भरतपुर । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दसैँ सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्तमात्रामा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा निरास पर्यटन व्यवसाय चाडबाड सुरु भएसँगै पुनःतङ्ग्रिन थालेको बताउनुभयो । “दसैँअघि सौराहा सुनसान जस्तै थियो”, उहाँले भन्नुभयो, “पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक बढ्न थालेका छन् ।” देशमा बढ्दो अर्थतन्त्रको समस्याले कतै आन्तरिक पर्यटकको सङ्ख्यामा पनि कमी आउने हो कि भन्ने चिन्तामा रहेका व्यवसायीलाई दसैँको माहोलले भने केही उत्साहित बनाएको गिरीले बताउनुभयो । उहाँले दसैँपछि सौराहाका सबै होटल पर्यटकले भरिभराउ भएको जानकारी दिनुभयो ।

आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्दै जाँदा सुस्ताउँदै गरेको सौराहाको पर्यटनलाई पुनःपुरानै लयमा फर्काउने राम्रो सङ्केत दिएको सौराहाका पर्यटन व्यवसायी वासु ढुङ्गाना बताउनुहुन्छ । उहाँले दसैँमा पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो । 

दसैँको टीकापछि सौराहामा झनै पर्यटकको सङ्ख्या बढेको छ । शुक्रबार साँझ सौराहामा थामिनसक्नु भीड थियो । सौराहाको ड्यामसाइटका रेष्टुरेन्ट तथा होटल भरिभराउ थिए । होटल हर्मिटेजका सौराहाका सञ्चालक रमेश रेग्मी आन्तरिकसँगै सौराहामा बाह्य पर्यटकको सङ्ख्या पनि बढेको बताउनुभयो । 

उहाँले बाह्य पर्यटक आउने समय भएका कारण पनि सौराहामा चहलपहल बढेको भन्दै व्यवसायमा केही उत्साहा थपेको बताउनुभयो । उहाँका अनुसार रसिया, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका देशबाट घुम्नका लागि पर्यटक यहाँ आएका छन् ।

पछिल्लो समय नेपालीमा घुम्ने संस्कृतिको विकास भइरहेको छ । सौराहामा विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ । दसैँका बेलामा घुम्नुपर्छ भन्ने मान्यताले पर्यटकीय क्षेत्र स्वदेशी पर्यटकले नै भरिराउँछ देखिन्छ । आन्तरिक पर्यटक मिता आचार्य दसैँ बिदाको समय पारेर सौराहा घुम्न आएको बताउनुभयो । 

उहाँले सौराहामा रहँदा निकुञ्जमा जीप सफारी र राप्ती नदीमा ढुङ्गा सयर गरेको बताउनुभयो । पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक पर्यटक मात्र होइन अहिले विदेशी पर्यटक पनि सौराहामा देखिन थालेका छन् । उनीहरु सौराहा र चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न पाउँदा खुसी छन् । अमेरिकाबाट घुम्न आउनुभएका पर्यटक एन्जेला भन्नुहुन्छ, “चितवन निकुञ्जका वन्यजन्तुले र चराचुरुङ्गीले मन लोभ्यायो । यहाँको प्राकृतिक वातावरणमा घुम्न पाउँदा मन आनन्दित भयो ।”

पछिल्लो समय आन्तरिक पर्यटकले धान्दै आएको सौराहाका पर्यटनमा स्तरीय होटलको अभाव खड्किदै गइरहेको छ । त्यही अभावलाई पूर्ति गर्न विदेशी पर्यटकलाई लक्षित गर्दै सिद्धार्थ भिलासा वनबासजस्ता रिसोर्ट पनि खुलेका छन् भन्ने अन्य खुल्ने तयारीमा छन् । सौराहा वरपर साना तथा ठूला गरेर एक सय ५० होटल रहेका छन् भने ५० भन्दाबढी रेष्टुरेन्ट रहेका छन् । सौराहामा चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीका साथै डुङ्गा सयर, हात्ती सफारीका लागि पर्यटक आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष निकुञ्जमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख पर्यटकले भ्रमण गरेका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *