प्रकृति दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थाल्यो : पूर्वराष्ट्रपति यादव

न्भेष्टाेपेपर ।  फागुन ५, २०८१

महेन्द्रनगर (धनुषा) ।   पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकामा दुःख व्यक्त गर्नुभएको छ ।

आज जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उहाँले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव हुनेछ, खाद्यान्नको सङ्कट हुने खतरा छ ।”  चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरूरी रहेको उहाँको भनाइ छ ।

पूर्व राष्ट्रपति यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्षमा सिँचाइका लागि दुई अर्ब १५ करोडको ‘टेन्डर’ गरिएको जानकारी दिनुभयो । मधेस प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक स्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्न उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेस प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको बताउनुभयो ।

नमत पार्टीका अध्यक्ष डा सिके राउतले राजनीतिक ठीक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने बताउनुभयो ।

चिकित्सक डा ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुने बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *