छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन

न्भेष्टाेपेपर ।  चैत्र ७, २०७९

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङ्गभेद तथा छुवाछूतको अमानवीय प्रथालाई सामाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नुभएको छ ।

आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातीय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो ।

“कानुनी रुपमा वर्जित भए पनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन । यसलाई तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक छ”, उहाँद्वारा जारी सन्देशमा भनिएको छ । उहाँले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात् गरेको बताउनुभएको छ ।

अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, संस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणका विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सबलीकरण र सामाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताउनुभएको छ ।

“आवासविहीन दलित र भूमिहीनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो”, सन्देशमा उहाँले भन्नुभएको छ, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, वञ्चितिकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।”

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *