व्यवसायीका समस्या हल गर्न पहल गरिँदै

इन्भेष्टोपेपर । भाद्र ३१, २०७

सुरुङ्गा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताउनुभएको छ । 

मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताउनुभयो । 

कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उहाँले बताउनुभयो । ढकालले भन्नुभयो, “देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ, बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन्, आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ, यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।”

महासङ्घले महिला उद्योगीको उत्थान र समग्र व्यवसायीको बृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा महासङ्घका प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तेजकुमार रिजाललगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गर्नुभएको थियो । 

सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवसायी र एक सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुने सङ्घका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । सोह्र पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले आज निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टोली चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *