इजरायलकाे लागि लिइएकाे भाषा परीक्षाकाे परीक्षाफल प्रकाशित (रिजल्ट हेर्नुहाेस्)
इन्भेष्टोपेपर । भाद्र ३०, २०७८
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरकाे रूपमा जान इच्छुक श्रमिक लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । विभागले सोमबार सञ्चालन गरेको परीक्षाको परीक्षाफल मङ्गलबार सार्वजनिक गरेको हो ।
विभागका अनुसार एक हजार ३९५ जना महिला र ६४४ पुरुष गरी कुल दुुई हजार ३९ जनाले अङ्ग्रेजी भाषा उतिर्ण भएका छन् । इजरायल जान चार हजार २०० महिला र पाँच हजार ४९९ पुरुष गरी नौ हजार ६९९ जनाले आवेदन दिएका थिए । जसमध्ये छ हजार ३१७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।
विभागका निर्देशक कमल ज्ञवालीले भाषा परीक्षामा छनोट भएका उम्मेदवारहरूको आगामी असोज १ गतेबाट व्यावसायिक सीप विकास प्रतिष्ठान भैँसेपाटी ललितपुरमा उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने जानकारी दिनुुभयो । उहाँका अनुसार छनोट भएका उम्मेदवारले उचाइ र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुनु पर्छ ।
विभागका अनुसार आवेदक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्छ । योअनुसार उचाइ र तौल नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ ।
