शेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन

इन्भेष्टोपेपर । चैत्र ०६ २०७८

काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले गत सोमबार सेयर कारोबार बन्द भएकोबारे छानबिन गर्न निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो त्रैमासिक समीक्षा कार्यक्रममा शुक्रबार अर्थमन्त्री शर्माले उक्त समस्याको तत्काल छानबिन गर्न र यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अधिकारीलाई निर्देशन दिनुभएको हो ।

“केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य विषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस् । यो प्राविधिक विषय मात्र होइनजस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ,” उहाँले भन्नुभयो ।

ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि सोमबारको सेयर कारोबार स्थगित भएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारको सेयर कारोबार बन्द भएको जनाएको थियो । करिब दुई घण्टा मात्रै खुलेपछि रोकिएको बजार सोमबारका लागि बन्द भएको थियो ।

अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधीकरण, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, कृषि विकास बैङ्क, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सञ्चय कोष, राजस्व परामर्श समिति, एमसीसी परियोजना, बीमा समिति, बीमा संस्थान, बीमा कम्पनी, नेपाल राष्ट्र बैङ्कलगायतको दोस्रो त्रैमासिक समीक्षा सम्पन्न भएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको सबै निकायले जानकारी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिनुभएको थियो । संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गने, प्रविधिको अपडेट गरिरहनेलगायतका कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

“आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ । राष्ट्र बैङ्क अझै उदार भयो भने यो समस्या सुधार हुन्छ । अन्य बैङ्क तथा वित्तीय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु,” उहाँले भन्नुभयो । सो कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका अन्य अधिकारीसहित गभर्नर महाप्रसाद अधिकारीको पनि उपस्थिति थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *