ग्लोबल आइएमई र बिओकेकाे एकीकृत कारोबार सुरु, पूँजीकाे हिसाबले सबै भन्दा ठूलो बैंक
इन्भेष्टाेपेपर । पुष २६, २०७९
काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको छ ।
एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंकहरु ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताउनुभयो । “बैंक मर्जर असाधारण कामहो, यो प्रसंशा योग्य छ । बैंक ठूलाहुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले मुलुकको दूरदराजसम्म नबिनतम बैंकिङ्ग सेवा र वित्तीय साक्षरता अभिवृद्धि कामगर्न जरुरी छ,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीदाहालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको र यसकालागिवर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताउनुभयो । उहाँले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताउनुभयो । उहाँले ठूला बैंकले एकल ग्राहक सिमामा आन्तरिक सिमा समेत कायम गरी साना तथा मझ्यौला ऋणिहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताउनुभयो ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रकालागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताउनुभयो ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनु हुनेछ ।
२१ वटा बैंक तथावित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहितभएकाछन् ।
मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुलपूँजी ५७ अर्ब रुपैयाँ, चुक्तापूँजी ३५.७७ अर्ब रुपैयाँ, कुलनिक्षेप ४ खर्र्ब१२ अर्ब रुपैयाँ, कुलकर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुलपूँजी, चुक्तापूँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।
दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखाकार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
