आइओसीले मार्केटिङ कस्ट भन्दै प्रतिलिटर ५६ पैसा भारु बढाएर बिल पठायाे

इन्भेष्टाेपेपर । असाैज १८, २०७७ 

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक संस्था हो।

आइओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ बिक्री गर्दा अन्तर्राष्ट्रिय मूल्यका आधारमा दुई प्रतिशत रकम मार्जिन राखेर इन्धन बिक्री गर्दै आएको छ। अहिले पेट्रोल र डिजेल बिक्री गरेबापत आइओसीले पाउने मार्केटिङ कस्ट (लागत) शीर्षकको रकम एक लिटरमा ५६ पैसा भारु (८९ पैसा नेपाली) बढाएर पठाएको छ। लिटरमा ८९ पैसा बढ्दा यहाँ आयात हुने वार्षिक २५ लाख किलोलिटर पेट्रोलियम पदार्थका आधारमा एक वर्षमा करिब सवा दुई अर्ब रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने देखिन्छ। आयात बढ्दै जाँदा यो रकम पनि बढ्छ।

मार्केटिङ कस्ट शीर्षकको रकम बढाउन आइओसीका अधिकारीले दबाब दिएको आयल निगमका एक उच्च अधिकारीले बताए। ‘आइओसीले डिजेल र पेट्रोलको मार्केटिङ कस्टमा ५६ पैसा भारु बढाउन बिलिङ गरेर पठाएको छ,’ ती अधिकारीले भने, ‘तर यस्तो थप रकम तिर्नुपर्ने कुनै कारण छैन।’

आइओसीले बढाएर पठाए पनि निगमले भुक्तानी दिएको छैन। आइओसीले नेपालमा विगतमा युरो–४ मापदण्डको इन्धन बिक्री गर्दै आएकोमा अहिले युरो–६ मापदण्डको तेल बढाउँदा लागत बढेको दाबी गरेको छ। आइओसीले निगमसँग मार्केटिङ कस्ट र मार्केटिङ मार्जिन शीर्षकमा थप रकम लिएर मूल्य निर्धारण गर्छ। आजको नागरिक दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *