५० मेगावाटको मर्स्याङ्दी बेंसी जलविद्युतमा चिनियाँ लगानी

इन्भेष्टाेपेपर । असाैज १८, २०७७ 

काठमाडौं । दिव्यज्योति हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको ५० मेगावाटको मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी चाइना चोङकुइङ अनलाय हर्बल कम्पनी लिमिटेडको ९८ प्रतिशत लगानी हुनेछ । नेपालका गोपालकृष्ण कोइरालाको पनि २ प्रतिशत लगानी रहनेछ । एक दशकअघि दिव्यज्योति हाइड्रोपावरले सर्भे गरेको आयोजनाले चिनियाँ कम्पनीलाई सेयर बेचेको हो । नेपालमा लगानी गर्न पाउँदा खुसी लागेको दिव्यज्योतिका उपमहाप्रबन्धक एवं प्रमुख इन्जिनियर कोलुङ च्याले बताए । कम्पनीको नेपालमा पहिलो लगानी भएको र चिनियाँ प्रविधिमार्फत जलविद्युत् निर्माण गरिने उनले जानकारी दिए ।

२०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको आयोजनाले २०८४/०८५ अगावै निर्माण सक्ने लक्ष्य लिएको छ । आयोजना निर्माणमा ८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको परामर्शदाता नेपाल इन्भाइरोन्मेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टेन्सी प्रालि (एनईसीडी) का प्रबन्ध निर्देशक नारायणप्रसाद खनालले बताए ।

बेंसीसहर नगरपालिका–६, बेलौतीबिसौनानजिकै बाँध बाँधेर ६ दशमलव ६५ मिटरको सुरुङ निर्माण गरी ३ सय १५ मिटरको पेनस्टक पाइप राखेर बेंसीसहर नगरपालिका–१० सालडाँडामुनि अर्धभूमिगत गृह निर्माण गरेर विद्युत् उत्पादन गरिनेछ । आयोजनामा २५/२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहनेछन् । उत्पादित विद्युत् उत्पादन गृहबाट ५ किलोमिटर दूरीमा निर्माण गरिने उदिपुर सबस्टेसनमा जडान गरिनेछ । आयोजनाबाट वार्षिक ३ सय २१ दशमलव १५ गिगावाट आवर ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ । सुक्खायाममा ६५ दशमलव ५० गिगावाट आवर र वर्षायाममा २ सय ५८ दशमलव ६५ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

बेंसीसहरमा आयोजित सार्वजनिक सुनुवाइमा शुक्रबार प्रतिनिधिसभा सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नागरिकको भावनालाई समेटेर अघि बढ्न आयोजना पक्षलाई आग्रह गरे । ‘आयोजनाले सुरुमा प्रक्रियागत काम गर्दा स्थानीयसँग यथेष्ट छलफल गरेको देखिँदैन । स्थानीयको भावनालाई समेटेर आयोजना निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘आयोजना निर्माण गर्दा नेपालको संविधान र कानुनविपरीत गरिए भोलि समस्या हुन सक्छ ।’

आयोजना र नागरिक दुवैले ‘विनविन’ हुने गरी आयोजना निर्माण हुनुपर्ने गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए । ‘विद्युत्ले देशलाई उज्यालो बनाउँछ । हामीलाई समृद्धिको मार्गमा अघि बढाउनेछ,’ उनले भने, ‘कानुनभन्दा माथि कोही हुँदैन । प्रभावित स्थानीयको चित्त बुझाएर आयोजना निर्माण गर्नुपर्छ ।’

रन अफ द रिभर प्रकृतिमा निर्माण गरिन लागेको आयोजनाले विद्युत् उत्पादनका क्रममा हिउँदमा १० प्रतिशत पानी नदीमा छाड्ने, एउटा रूख काटेबापत १० वटा लगाउने, नदीमा माछाका भुरा छाड्ने, जलचरको बासस्थान जोगाउन ठुल्ठूला ढुंगा राख्ने, भाचोक खोलाको पानी प्रयोग नगर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माणमा सहयोग गर्ने, महिला, दलित, जनजातिको जीवनस्तर सुधार्न कृषि र जडीबुटीका तालिम सञ्चालन गर्ने, स्थानीयलाई रोजगार दिने, स्थानीयलाई १० प्रतिशत सेयर दिने कार्यक्रम अघि सारेको छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *