पुनर्बीमा कम्पनीको आईपीओ भाेली बुधबार बाँडफाँड हुने
इन्भेष्टोपेपर । चैत्र २५, २०७६
नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर भाेली बुधबार बाँडफाँड हुने भएको छ ।
पुनर्विमा कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङले जनाए अनुसार भाेली बुधबार बिहान ७.३० बजे शेयर बाँडफाँड गर्ने निर्णय गरेको हो ।
विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङले दिएको जानकारी अनुसार उक्त आईपीओका लागि ४ लाख ९ हजार ७२२ जना सर्वसाधारणले रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन् । जुन मागभन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रकम बढी हो ।
कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुने १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो ।
कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो।
