माउन्टेन हाइड्रोको आईपीओ निष्कासनः न्युनतम ५० देखि ८० हजार कित्तासम्म आवेदन दिन पाइने
Investopaper, फाल्गुन २३, २०७५
माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन आजबाट शुरु भएको छ । पाँचथर जिल्लामा अवस्थित तल्लो हेवा खोला जलविद्युत् आयोजनाबाट २१.६ मेगावाटको विजुली उत्पादन गर्न यो आयोजनाले काम गरिरहेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार सर्वसाधारणकाे लागी जारी गरिएकाे याे निष्काशनमा न्युनतम ५० देखि अघिकतम ८० हजार कित्तासम्म शेयर आवेदन दिन सकिने छ । यसको शेयर आवदेन यही फागुन २३ (आजबाट) छिटोमा २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन पाइने छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो ।
निष्काशन गरिएको कूल शेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ । बाँकी १७ लाख ३९ हजार ७८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन ।
माउन्टेन हाईड्रोको आईपिओले इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग इक्रा एनपि आईपिओ ४ पाएको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ ।
यो जलविद्युत् आयोजनको कुल लागत ४ अर्ब २८ करोड रहेको छ। यसको प्रति मेगावाट लागत १९ करोड ८२ लाख रुपैयाँ हुने छ । यस आयोजनाले लगानीफिर्ता हुनेअवधि ८.२७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुनेअवधि १०.७२ वर्ष हुने जानकारी पनि दिएको छ ।
कम्पनीको विवरणपत्र अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले प्रतिशेयर ६ रुपैयाँ १४ पैसा नोक्सानी व्यहोर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा २ रुपैयाँ २८ पैसा र ०७७/७८ मा ३ रुपैयाँ ६३ पैसा वार्षिक प्रतिशेयर आम्दानी गर्ने कम्पनीको प्रक्षेपण छ ।
आईपिओ जारी गरेपछि माउन्टेनको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था साथै मेरो शेयरको खाता खोलेकाले अनलाइन आवेदन दिन सक्ने छन्।
