जापानकाे रोजगारी भाग्यकाे भर : लक्की ड्र मा पर्ने हजार जनाले मात्र परीक्षा दिन पाउने

Investopaper, असाैज ११, २०७६

काठमाडौंः जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। लक्की ड्र मा छानिएका भाग्यशाली मात्र परीक्षामा सहभागी हुन पाउनेछन् ।

शुक्रबारदेखि सुरु भएको अनलाइन आवेदन असोज १६ गतेसम्म दिन पाइनेछ। जापान फाउन्डेसनका अनुसार इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउनेछन्। आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदक छानिनेछन्।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजान लागेको हो। भाषा परीक्षाका लागि जापानले लक्की ड्रमार्फत एक हजार जना छनोट गर्नेछ। भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्। भाषा परीक्षाका लागि जापानले असोज २२ गते मात्रै नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउँछन्।

नेपाली कामदारका लागि जापान आकर्षक मुलुक हो। जापानीसरह सेवासुविधा पाइने भएकाले जापान जान चाहनेको संख्या अत्यधिक छ। झन्डै एक लाखभन्दा बढीले जापानी भाषा अध्ययन गरिरहेको बताइन्छ। जापान जान चाहनेको संख्या अधिक हुने संकेत देखिएसँगै जापानले लक्की ड्रमार्फत छोटो सूची बनाएर भाषा र सीपको परीक्षा लिने योजना बनाएको हो। भाषा परीक्षाका लागि आवेदन दिँदा कुनै शुल्क लाग्दैन।

जापानले युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालन गर्नेछ। कात्तिक १०, ११ र १२ गते पहिलो चरणको परीक्षा हुनेछ। त्यस्तै दोस्रो चरणमा कात्तिक १९, २० र २१ गते र तेस्रो चरणमा कात्तिक २६, २७ र २८ मा भाषा तथा सीप परीक्षा हुने तय भएको छ। याे समाचार अन्नपूर्ण पाेष्टमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *