मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने
इन्भेष्टाेपेपर । साउन १६, २०८३
टोक्यो । जापानले आगामी अप्रिलदेखि खाद्यवस्तुमा लाग्ने उपभोग्य कर आठ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने प्रधानमन्त्री सनाए ताकाइचीले बिहीबार बताउनुभएको छ । उहाँको प्रशासन बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।
“सन् १९८९ मा कर लागू भएयता यो पहिलो पटक यस्तो कटौती हो र दुई वर्षपछि दर फेरि आठ प्रतिशतमा फर्कने छ,” प्रधानमन्त्री ताकाइचीले पत्रकारसँग भन्नुभयो । यो कदम विश्वको चौथो ठूलो अर्थतन्त्रमा जीवनयापनको खर्चको दबाब कम गर्न लक्षित छ, जुन मध्यपूर्वको युद्ध र कमजोर येनका कारण बढिरहेको छ ।
यो जापानको विशाल ऋणको चिन्ताका बाबजुद आएको छ । जापानको ऋण उन्नत अर्थतन्त्र मध्ये सबैभन्दा उच्च अनुपात यसको कुल गार्हस्थ्य उत्पादनको दोब्बरभन्दा बढी छ । “अप्रिलदेखि जापानले ‘खाद्य तथा पेय पदार्थमा बिक्री कर दुई वर्षका लागि एक प्रतिशतमा झार्ने’ नीतिलाई कार्यान्वयन गर्ने प्रयास गरिरहेको छ,” ताकाइचीले भन्नुभयो ।
“त्यसपछि सन् २०२९ मा हालको दर पुनः लागू गरिनेछ, जुन बढ्दो सामाजिक बीमा प्रिमियमबाट थिचिएका न्यून आम्दानी भएका कामदारलाई लक्षित ‘अझ सूक्ष्म अनुदान’ सुरु हुने समयसँग मेल खानेछ,” उहाँले भन्नुभयो । दुई वर्षको कटौतीबाट कर राजस्वमा १० ट्रिलियन येन (करिब ६१ अर्ब डलर) घाटा हुने अनुमान मिडिया रिपोर्टमा छ ।
ताकाइचीले फेब्रुअरीमा खाद्य तथा पेय पदार्थमा बिक्री कर पूर्णरूपमा हटाउने वाचा गर्नुभएको थियो । यो उहाँको चुनावी घोषणापत्रको मुख्य अंश थियो जसले तल्लो सदनको चुनाव उहाँको दललाई ठूलो जित दिलाएको थियो । बिहीबार उहाँले भन्नुभयो, “सरकारले गुमेको राजस्व पूर्ति गर्न अन्य कर राहत उपाय र अनुदान कार्यक्रमको पुनर्मूल्याङ्कन जस्ता कदम खोज्ने छ । “प्रशासनले ‘बजारको विश्वास जित्न विशेष सरकारी ऋणपत्रमा निर्भर नभई कोष सुरक्षित गर्ने’ लक्ष्य राख्ने छ,” उहाँले भन्नुभयो । (रासस/एएफपी)
