विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

इन्भेष्टाेपेपर ।  साउन १६, २०८३

काठमाडौँ । आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। 

यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत : प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नाराका साथ अगस्ट १ देखि ७ (साउन १६–२२) सम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिँदैछ।

सप्ताहका अवसरमा स्वास्थ्यकर्मीले शिशु जन्मिएको एक घण्टाभित्रै बिगौती दुध (कोलोस्ट्रम)खुवाउन आग्रह गरेका छन्। बिगौती दुधलाई शिशुको पहिलो खोपका रूपमा लिइने भएकाले यसले रोगसँग लड्ने क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

त्यस्तै, शिशु जन्मिएको पहिलो ६ महिनासम्म आमाको दुध मात्रै खुवाउन तथा त्यसपछि उमेरअनुसारको पूरक आहारसँगै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिन सुझाव दिइएको छ।

स्वास्थ्य विज्ञका अनुसार आमाको दुध शिशुका लागि अमृतसरह हुने भएकाले यसले आवश्यक पोषण प्रदान गर्नुका साथै विभिन्न सङ्क्रमण र रोगबाट जोगाउन मद्दत गर्छ। स्तनपानले महिलामा स्तन तथा पाठेघरको क्यान्सर हुने जोखिमसमेत कम गर्ने बताइएको छ।

यस्तै, स्वास्थ्यकर्मीको सल्लाहबिना शिशुलाई आमाको दुधबाहेक अन्य कुनै प्रकारको दुध नखुवाउन तथा दुधदानी वा बोतलको प्रयोग नगर्न अभिभावकलाई आग्रह गरिएको छ।

स्वास्थ्यसम्बन्धी थप परामर्श तथा जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन्। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *