नेपालको दिगो कृषिका लागि जापानी प्रविधि भित्रिँदै

इन्भेष्टाेपेपर ।  साउन ११, २०८३

काठमाण्डौ । दिगो कृषि, स्वच्छ वातावरण, जल शुद्धीकरण, ऊर्जा बचत तथा फोहर व्यवस्थापनमा सहयोग पुर्‍याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रिने भएको छ ।

काठमाण्डौमा सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आयोजना गरेको ‘जापान टु नेपालः इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै ८० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा हरित प्रविधिमार्फत कृषि उत्पादन बढाउने, वातावरण संरक्षण गर्ने र ऊर्जा दक्षता अभिवृद्धि गर्ने नयाँ सम्भावनाबारे जानकारी दिइएको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल–जापानबीच प्रविधिमा आधारित सहकार्यले दिगो आर्थिक विकास, कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले निजी क्षेत्रबीचको सहकार्यलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । जापानको ट्रिम कम्पनी लिमिटेडका अध्यक्ष त्सुबोई इवाओले प्रयोग भइसकेका सिसालाई पुनः प्रशोधन गरेर उत्पादन गरिने ‘सुपर सोल’ सामग्रीबारे जानकारी दिनुभयो ।

उहाँका अनुसार यो हलुका र छिद्रयुक्त सामग्री कृषि, बागवानी, जल शुद्धीकरण, निर्माण तथा हरित पूर्वाधारमा उपयोगी हुने तथा फोहरलाई उपयोगी स्रोतमा रूपान्तरण गर्न सकिनेछ ।

त्यसैगरी, डाएएई कम्पनी लिमिटेडका अध्यक्ष मोरिता मिचिओले ‘अक्सिजन फिल्टर’ प्रविधिको प्रस्तुति दिँदै यसले पानीमा उच्च मात्रामा अक्सिजन घोलेर नदी, ताल, मत्स्यपालन, कृषि तथा फोहर पानी शुद्धीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

कोदु जापान कम्पनी लिमिटेडका अध्यक्ष कोशाकाइ तोशियाकीले ऊर्जा बचत गर्ने ‘सुपर एलईडी’ प्रविधिबारे जानकारी दिँदै नेपालमा हाल उपलब्ध सस्तो एलईडीकै मूल्यमा जापानी गुणस्तरका एलईडी उपलब्ध गराउने र आगामी तीन वर्षभित्र देशभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *