कविता : हाम्रो नराम्रो चिन
— कृष्णप्रसाद पोखरेल (चितवन)
(शार्दुलविक्रीडित छन्द)
आफ्ना बाट भए कुनै गलत मा राम्रो भनी ढाक्दछन् ।
अर्काको उहि गल्तीमा बुझिबुझी खेदो खुबै खन्दछन्।
हेर्दा सभ्य विचार, भित्र गुणमा निस्पक्ष छैनन् किन ?
मान्छे उत्तम छान्न हिम्मत भए हाम्रो नराम्रो चिन ।।१।।
राम्रो काम गरेपनि अहित भो अर्काहरुमा परे ।
उस्तै हर्कत गर्छ त्यो असल भो आफ्नाहरुले गरे ।।
कस्ले सक्दछ न्यायको नजरले चिम्लेर आत्मा छुन ?
मान्छे उत्तम छान्न हिम्मत भए हाम्रो नराम्रो चिन ।।२।।
आँखा, कान छ देख्न सुन्न सबको उस्तैछ बुझ्ने मन ।
दिन्छन् भिन्न विचारमा प्रतिक्रिया हेरेर यौटै किन ?
त्यो साँचो र झुटो चिनेर पनि के ढाट्छन् र आफ्नै मन ?
मान्छे उत्तम छान्न हिम्मत भए हाम्रो नराम्रो चिन ।।३।।
हाम्रो नै हुनुपर्छ भन्छ उसले जो बस्छ निर्णायक ।
मात्रै त्यो प्रतियोगिता भइदियो देखावटी साधक ।।
राम्रा मानिस पर्नुको पछि कुनै यस्मा छ के कारण ।
मान्छे उत्तम छान्न हिम्मत भए हाम्रो नराम्रो चीन ।। ४।।
कस्को हो कुन पक्ष लिन्छ उसले हेर्दैछ माथी तल ।
राम्रै हो नचिनी लिदैन उसले त्यो योग्यताको भर ।।
मात्रै सोर्स र फोर्स बाट कसरी छानिन्छ त्यो सक्षम ।
मान्छे उत्तम छान्न हिम्मत भए हाम्रो नराम्रो चीन ।। ५ ।।
नातावाद र चाकडी छ त्यसमा अर्कोछ आरक्षण ।
तोड्नै पर्दछ यो समस्त विकृती पर्दा उचाली कन ।।
आफैमा हुनुपर्छ सक्षम कला निस्पक्षतामा भिड ।
मान्छे सक्षम छान्न हिम्मत भए पर्दा हटाई हिड ।। ६ ।।
