विश्व रेकर्ड बनाउँदै कामीरिता शेर्पा २८औँ पटक सगरमाथामा

न्भेष्टाेपेपर । जेठ ९, २०८०

काठमाण्डाैँ । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो । 

योसँगै उहाँले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्नुभएको छ । यो वर्षको वसन्त ऋतुमा उहाँको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उहाँले २७औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । 

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण  गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको ।
  
सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *