कविता : म प्रेमको लायक छैन
-- लता न्याैपाने
मनोभावना
म प्रेम बुझ्दिन
मलाई लाग्छ म प्रेमको लायक छैन
किनकी म त्यो प्रेम बुझ्दै बुझ्दिन
मलाई लाग्छ माया गरेपछी
माया गर्नेको खबर लिनु पर्छ
दुस्खपिडामा हौसला दिनुपर्छ
समस्यामा सहयोग हुनुपर्छ
ब्यस्ताविच केही समय दिनुपर्छ
माया गर्नेको खबर लिनु पर्छ ।
म हरेक विहान शुभ(विहानी संदेश खोज्छु
दिनभर कुनै संवाद वा कलको आशा राख्छु
म हरेक रातमा शुभ(रात्री संदेश खोज्छु
पाउँदिन अनि सोच्छु सायद फुर्सद भएन
मन त थियो होला तर सम्झना रहेन ।
दिन हप्ता महिना यस्तै गरि जब बित्छन्
आशाका उज्यालालाई निराशाले जित्छन्
म सोच्छु यति जटिल प्रेमको म योग्य छैन
किनकी म त्यो प्रेम बुझ्दै बुझ्दिन ।
फुर्सदमा गफ पराईले पनि गर्छन्
भेटमा खवर जो कसैले सोध्छन्
एकअर्काका लागि हामी विशेष भैएन भने
बहानाहरू पन्छाएर एकै रहिएन भने
निर्धक्क निशंकोच मनका बात कहिएन भने
अन्यौल आशंका विच प्रेम फुल्छ र ?
तन मिल्दैन वचन मिल्दैन मात्र मन मिल्छ र ?
यदि तिमीलाई त्यस्तो लाग्छ भने
माफ गर म त्यो प्रेम बुझ्दिन
मलाई लाग्छ म प्रेमको लायक छैन
हो म प्रेमको विल्कुल लायक छैन ।