कविता : हाम्रो भेट हुँदैन हो कि सँगिनी !

— कवि माधव प्रसाद घिमिरे

नेपाली हरिया पहाड वनका यी घाम–छायाहरु
हामी दम्पति, शान्ति कान्ति कलिला, यी मोह–मायाहरु
यो संयोग जुटाउने कुन थियो कल्ले बिगार्यो अनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

पृथ्वीमा अबदेखिलाइ कहिल्यै कालै नआए पनि
प्यारी भैकन अप्सरा घरघरै आएर जन्मे पनि
मेरो जो हरियो भरिन्न जसको जे जे जुटे तापनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

हाम्रा हर्ष र शोक, मान, ममता, आनन्द यौटै थिए
एकै प्राण थियो र ज्यान दुइका सन्तान एकै थिए
बाँचूँ भिन्न भएर आज कसरी, आधा म¥यो जीवनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

ती ठट्टा सुखका र फेरि दुःखका सल्लाह हाम्रा गए
ती हाम्रा झगडा र मान, ममता, माधुर्य, माया गए
बाँकी जीवनको मुराद मनको रोयो बिलौना बनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

छन् सम्पूर्ण सुखी कसैसित पनी मिल्दैन मेरो मन
छन् ताराहरु रातमा र दिनमा साथी छ यो निर्जन
एकान्तस्थलमा त भेट्न तिमीले हुन्थ्यो नि आए पनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

मेटी स्वर्ग र मत्र्यलाइ जसरी भेट्छौँ महारातमा
ब्यूँझन्नौँ किन एकसाथ त्यसरी हामी दुवै प्रातमा
स्वप्नाको दुनियाँ मलाइ कहिले मिल्ला नि साँचो बनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

मर्ने मानिस फर्किँदैन कहिल्यै भेटिन्न भेटिन्न रे
पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे
यो कस्तो कुन निष्ठुरी नियम हो, के हुन्छ फेरे पनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

तिम्रो सुन्दर त्यो शरीर, मधुरो मुस्कान तिम्रो गयो
तिम्रो बैँस रमाइलो र गहिरो माया कसोरी गयो
पाइन्नौ यस रुपमा अब तिमी फर्केर आए पनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

हेर्छन् बादलले हिमालगिरीमा– ‘गौरी कहाँ छन् ?’ भनी
सोध्छे शान्ति मलाइ सानु मुखले – ‘आमा कहाँ छन् ?’ भनी
मैलाई पहिले म उत्तर दिऊँ– ‘मेरी ! कहाँ छौ ?’ भनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

ब्यूँझन्नौ यस जन्ममा अब तिमी अल्प्यौ महाकालमा
मैले हेलिनुपर्छ रे सब भुली संसारको भेलमा
सम्झेला कसले ‘दुवै दिन सँगै हामी थियौँ रे !’ भनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

— गाैरी खण्डकाव्यबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *