कविता : आउँ, बाहिर आउँ
— अनिल पौडेल
हो
मौका यही हो
समय यही हो
देखाउँ
खेला देखाउँ
पावर देखाउँ
सदनमा जस्तै
सडकमा पनि
‘ जिरो आवर ‘ देखाउँ
त्यागले भिजेर निथ्रुक्क हुँदा पनि
शिफारिशमा परिएन भने
खबरदारी गरौंरऔंला ठड्याउँ
आफ्नै लेबिले बनेको
पार्टी कार्यालयको भित्तो लडाउँ
नेताजीको कान भत्किनेगरी
छिमेकीको आँगनमा उभिएर
तथानाम गरौं
मुर्छा परौं ।
आउँ
चोकबजारमा आउँ
मठमन्दिरमा आउँ
जो जसरी बसिएको छ
त्यहीँ त्यहीँबाट घस्रेर आउँ
यो अन्तिम युद्ध हो झण्डा हल्लाउने
वर्गीय नातालाई भत्काउनेगरी आउँ
भएभरका नाता खुइल्याउनेगरी आउँ,
आदर्शमा बाँचेछौं आजसम्म
त्यो आदर्शको पर्खाल भत्काउनेगरी आउँ
निष्ठाको बाटो हिँडेछौं आजसम्म
त्यो बाटोको बिचमै बिष्ट्याउनेगरी आउँ ।
पुर्खाले कहिले हो
विश्वयुद्ध लडे रे
केही छैन
हामी आफूमाथि खनिएको
अन्यायको बिरूद्धमा
प्राण उत्सर्ग गर्नेगरी आउँ
बर्गबैरी
हातमा पट्टा बोकेर बसेको छ
छाती तनक्क तन्काएर
सिउरिदिस्योस् ख्वामित भन्नेगरी आउँ।
ए आउँ
मौका यही हो
छिटो आउँ ।
