चार हजार दुई सय मिटर उचाइमा केःलाङ नाच
इन्भेष्टाेपेपर । भाद्र ३०, २०८३
ताप्लेजुङ । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइ रहेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ प्रस्तुत गरिएको छ । पर्यटनसँगै विविध संस्कृतिको उजागर र प्रवर्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ (च्याब्रुङ नाच) प्रस्तुत गरिएको हो ।
तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताका अवसरमा लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृतिमा आधारित केःलाङ प्रस्तुत गरिएको हो । चार हजारभन्दा बढी उचाइ रहेको भूभागमा पहिलो पटक केःलाङ प्रदर्शन भएको तिम्बुङ पोखरी पर्यटन विकास समितिका अध्यक्ष अमिर राईले दाबी गर्नुभयो । मौलिक संस्कृतिको प्रदर्शनले पनि पर्यटन प्रवर्धनमा महìवपूर्ण टेवा पुग्ने भएकाले लिम्बू जातिको संस्कृति केःलाङ प्रस्तुत गरिएको समितिका अध्यक्ष राईले बताउनुभयो । पर्यटन प्रवर्धनसँगै मौलिक संस्कृतिको उजागर साथै संरक्षण गर्ने उद्देश्य राखेर पनि केःलाङ प्रस्तुत गर्ने कार्यव्रmम राखिएको उहाँको भनाइ छ ।
तिम्बुङ पोखरी पर्यटन विकास समितिले केःलाङ प्रस्तुत गर्नाले जिल्लाकै एक पर्यटकीय गन्तव्यका रूपमा रहेको तिम्बुङ पोखरी क्षेत्रको प्रचारप्रसार र प्रवर्धनमा टेवा पुग्ने अपेक्षा राखेको छ । नेपाली पोसाक र मौलिक गरगहना लगाएर लिम्बू समुदायका युवकयुवतीले च्याब्रुङ (ढोलबाजा) र झ्याम्टा झ्याली बजाउँदै केःलाङ प्रस्तुत गरेका थिए । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।
