मिर्गौला दिवस : खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ

इन्भेष्टोपेपर । फागुन २६, २०७८

काठमाडौँ   ।  बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन ।

अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहनुभएको छ । नियमित डायलासिस धेरै बोझको जिन्दगी हो, तुलसीले भन्नुभयो, “हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।” तुलसीको डायलासिस हप्तामा तीन पटक गर्नुपर्छ । हाल उक्त केन्द्रमा २५ जनाले हप्तामा तीन पटकसम्म नियमित डायलासिस गराइरहेका छन् ।

एक पटक डायलासिस गर्नलाई चारदेखि पाँच घण्टासम्म लाग्दछ । यस्तै रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ । उहाँको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ मा भएको थियो । त्यसपछि नियमित डायलासिसमा रहनुभएकी श्रीपालीको २०७१ साल माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । जेठी छोरी विजयाले उहाँलाई मिर्गौला दान गर्नुभएको थियो तर मिर्गौला प्रत्यारोपण गरेको २४ घण्टा पनि टिकेन । उहाँको शरीरले मिर्गौला रिजेक्ट गरेपछि दुई महिनासम्म शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भयो । पुनः मिर्गौला डायलासिस गराउनुपर्नेभयो । गत कात्तिक२९ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला पुनः प्रत्यारोपण भयो ।

अहिले भने श्रीपालीको परिवार आनन्दसँंग बस्न सकेको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग लाग्नै नदिनका लागि समय समयमा मिर्गौला परीक्षण गर्नुपर्ने बताउनुभयो ।उहाँले कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौला रोगबारे थाहा हुने जानकारी दिँदै एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिनुभयो । उहाँले खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको बताउनुभयो ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मिर्गौला बचाउनका लागि बिहान उठेर एक गिलास पानी पिउन सुझाव दिनुभयो । उहाँले निश्चित समयभित्र मिर्गौला परीक्षण गर्न पनि सुझाव दिनुभयो । डा. काफ्लेका अनुसार, नेपालमा प्रत्येक १० जनामध्ये एक जना व्यक्तिलाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ । नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडायलासिस सेवा सुरु भएको थियो । बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ मनाउन लागिएको छ । याे समाचार गाेरखापत्रमा प्रकाशित भउकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *