श्रमिक सूचना बैंक सञ्चालन : स्थानीय र प्रदेश सरकारसँग अन्तर आबद्धता कायम हुने

इन्भेष्टोपेपर । भाद्र १५, २०७७

काठमाडौं । श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैंक सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैंकको उद्घाटन गर्नुभयाे । 

मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पु¥याउने बैंकको उद्देश्य रहेको बताउनुभयाे । उहाँले बैंकमा श्रमिक र रोजगारदातासँगै बजारमा भएको काम र अवसरको समेत जानकारी हुने भएकाले श्रमिक र रोजगारदातालाई जोड्न सजिलो हुने पनि बताउनु भयाे। 

मन्त्रालयका अनुसार श्रम बैंक मार्फत कृषि, उद्योग, होटल लगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के–कति सङ्ख्यामा रहेका छन्, के–कस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत रूपमा सूचना प्राप्त हुनेछ । देशका विभिन्न क्षेत्र, पेसा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणसमेत समेटिने बताइएको छ ।

मन्त्रालयले ७५३ पालिकामा रहेको रोजगार व्यवस्थापन सूचना प्रणाली सुदृढ बनाई क्षेत्रगत रूपमा सीपमूलक जनशक्तिको विवरण सङ्कलन तथा अद्यावधिक गरी सरकारी तथा निजी क्षेत्रलाई उपयोगी हुने विश्वासका साथ स्थानीय सरकार र प्रदेश सरकार सँगको साझेदारीमा अन्तर आबद्धता कायम हुनेगरी प्राथमिकतापूर्वक श्रमिक बैंकको कार्य गरिने उद्देश्य राखेको जनाएको छ ।

गत साता श्रमिक बैंक तथा श्रम बैंक सम्बन्धी अध्ययन गर्न गठित कार्यदलले श्रम मन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो । उक्त कार्यदलले तयार गरेको प्रतिवेदनमा श्रम सूचना बैंकमा श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखाङ्कन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा रहेका अत्यावश्यक विवरण सूचना प्रविधिमा आबद्ध गरी श्रमिक र रोजगारीको क्षेत्र सम्बन्धी विस्तृत सूचना रहने बैंक स्थापना गर्न सुझाव दिएको थियो ।

प्रतिवेदनले कृषि, निर्माण, सेवा क्षेत्र लगायतका औपचारिक तथा अनौपचारिक क्षेत्रमा रोजगारीमा रहेका श्रमिकलाई श्रम बजारमा टिकाउन यस क्षेत्रलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ ।

बेरोजगारले श्रमिक सूचना बैंकको अनलाइनमा गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्ने छ । रोजगारदाताले आ–आफ्नो उद्योग प्रतिष्ठानमा रहेको रोजगारीको विज्ञापन प्रकाशन गर्नसक्ने व्यवस्था गरिएको छ । रोजगारदाताले राखेका विज्ञापन हेरेर बेरोजगारले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

‘डिटेक्ट’ प्रविधि विकास गरिने

यसैबीच श्रम मन्त्री यादवले श्रम मन्त्रालयले गत आर्थिक वर्षमा प्राप्त गरेका उपलब्धि र चालू आर्थिक वर्षमा गरिने कार्ययोजना सहितको प्रतिवेदन पनि सार्वजनिक गर्नुभयाे। उहाँले विदेशमा रहेका नेपाली श्रमिकको अवस्था थाहा पाउन ‘डिटेक्ट’ प्रविधि विकास गरिने योजना रहेको जानकारी दिनुभयाे । मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक कहाँ, के गरिरहेका छन् भन्ने कुराको यकिन जानकारी राख्न डिटेक्ट प्रविधिको विकास गर्ने जनाइएको छ ।

श्रम मन्त्री यादवले वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई उनीहरूको परिवारसँग जोडिराख्न सम्बन्धित व्यक्तिको परिवारमा इन्टरनेटको व्यवस्था गरिने जानकारी दिनुभयो । यसले गर्दा श्रमिक विदेशमा एक्लो महसुस गर्न नपाउने र परिवारसँग नियमित सम्पर्क भइरहँदा डिप्रेसनको सिकार पनि हुनुनपर्ने मन्त्री यादवको भनाइ छ । त्यसैगरी जीटूजी प्रणाली मार्फत जापान र कोरिया पठाउनेबारे कार्यविधि परिमार्जन गरिने तथा यही प्रणाली मार्फत इजरायल पठाउन कार्यविधि तर्जुमा गरिने पनि जानकारी दिइयो । (आजको गोरखापत्र दैनिकबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *