उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने
इन्भेष्टोपेपर । जेष्ठ १९, २०७८
काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको मंगलवारको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । बुधवार बैठक बसेर उक्त निर्णय गरिने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।
उहाँका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन् ।
यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरुलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जानकारी दिएको थियो ।
आदेशका अन्य प्रावधान भने यथावत रहने जानकारी दिइएको छ । जस अनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो ।
एक महीना वित्दा पनि कोरोना संक्रमण आशातित रुपमा घट्न सकेको छैन तर पछिल्ला दिनमा भने घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । मुलुकभर नै संक्रमण घट्दो क्रममा रहेको छ । (रासस)
