नबिल बैंकद्वारा “नबिल दिगो बैंकिङ्ग” को स्थापनाकाे घाेषणा
इन्भेष्टोपेपर । असार १६, २०७८
नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो ।
नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।
कार्यक्रममा बैंकका अध्यक्ष श्री उपेन्द्र प्रसाद पौड्यालले भने, “समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको छ । वर्षौंको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ । तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ”।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ ।
यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलाप अन्तर्गत केन्द्रित रहने जनाएकाे छ ।
यसका साथै बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) संग एक समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौता मार्फत देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त÷वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ ।
उक्त समझौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव जीव नारायण काफ्लेले हस्ताक्षर गरे ।
नविल बैंकले आफ्नो देशभर १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरूको बृहत सन्जाल मार्फत निरन्तर सेवा प्रवाह गरिरहेको छ ।
