नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

न्भेष्टाेपेपर । असार ३०, २०८१

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।

काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा. पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो ।

अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि धन्यवाद दिए ।

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन ।

“दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो”, उनले भनिन्, “नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ । जुन कुल जीडीपीको ११ प्रतिशत हो ।”

सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंक ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाइ केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ । बैंकले आफूलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित गरेको छ । स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको जनाएको छ ।

‘नबिल बैंक सँगै अघि’ नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमाले गर्दै अघि बढिरहेको बैंकले पछिल्लो समय दिगो बैंकिङमा जोड दिएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ सुरुआत गरेको थियो ।

बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *