नयाँ वर्षको अवसरमा क्यूआर कारोबारमा नबिल बैंककाे क्यास ब्याक योजना
इन्भेष्टाेपेपर । वैशाख २, २०७९
काठमाण्डाैँ । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजीविकास कोषकाे सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।
विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमी जसको स्वामित्वमा व्यवसाय भएको वा जसले प्रत्यक्ष रुपमाव्यवसायसंचालनगरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ ।
सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रतिदिन प्रति मर्चेन्ट अधिकतम रु.५०० सम्म क्यासब्याक प्रदान गरिनेछ। यो योजना २०७९ बैशाख १ गतेदेखि लागु हुनेछ ।
यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ ।
