नाफिजकाे वार्षिक जर्नल अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत
इन्भेष्टाेपेपर । असाैज १३, २०७९
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ।
बुधबारै नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारहरु समेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो ।
आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो १ लाख रुपैयाँ धनराशीको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत भएका छन् भने ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशी)’ बाट बाह्रखरी डटकमका विजय पराजुली (हाल अनलाइनखबर डटकममा कार्यरत) र टक्सार म्यागेजिनका अनुप आचार्य पुरष्कृत भएका छन् । उनीहरुलाई नगद र पुरस्कार सँगै प्रमाणपत्र पनि वितरण गरिएको हो ।
जर्नल विमोचन तथा पुरस्कार वितरण समारोहमा डेपुटी गर्भनर बमबहादुर मिश्रले पत्रकारिता पेशा आफैंमा जटिल रहेको बताए । विशेष गरी आर्थिक पत्रकारिता थप जटिल हुनसक्ने उनको धारणा छ ।
‘धेरैले मिडिया सम्बन्धी विषय पढेर आएका हुन्छन्, पेशामा आएपछि थप विषय जानकारी लिनुपर्ने देखिन्छ’ उनले भने, ‘त्यो विषय पनि सबैले बुझ्ने गरी सम्प्रेषण गर्नु आफैंमा चुनौति देखिन्छ।’
नाफिजले पत्रकारहरुलाई अन्य विषय सिकाउने माध्यम बनेको त्यो आफैंमा राम्रो काम रहेको उनको भनाई छ । त्यस्तै, आज नाफिजले सार्जजनिक गरेको जर्नलको मूलभाव आत्मनिर्भर अर्थतन्त्र रहेको र आत्मनिर्भर अर्थतन्त्रका लागि गर्न बाँकी धेरै रहेको उनले बताए।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजसँग जोडिएर आर्थिक पत्रकारलाई थप दुई पुरस्कार दिने घोषणा समेत गरेका छन्। नेपाल निर्जीवन बीमा व्यवसायी संघले स्रोत जुटाई एउटा कृषि र अर्को बीमा सम्बधी पुरस्कार दिने घोषणा गरेका हुन्। दुई पुरस्कारको धनराशी ५०/५० हजारको हुने पनि उनले घोषणा गरे।
कार्यक्रममा बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष तथा पुरस्कारका ट्रष्टी पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तीको कुरा हुनुपर्ने र सोही अनुसारको मुद्दा उठ्नु पर्ने बताए।
बैंक तथा बीमा विज्ञसमेत रहेका अर्का पुरस्कार ट्रष्टी तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पत्रकारिता गहिराइमा हुनपर्ने बताए। उनले आफू पनि कुनै समयको पत्रकार नै रहेको स्मरण गर्दै कुनै सूचना सम्पेषण गर्नुमात्रै पत्रकारको जिम्मेवारी नरहेको बताए।
‘कुनै नियामक निकायले कुनै नीति ल्यायो भने जानकारी मात्रै गराउने हैन। त्यो नीतिको प्रभाव के पर्छ, त्यस बारेमा जानकारी पत्रकारले दिनुपर्छ’ उनले भने, पाठकले जिज्ञाशा राख्ने कुरालाई पत्रकारले सम्प्रेषण गर्नुपर्ने हुन्छ। पाठकले सूचना भन्दा पनि त्यसको पक्ष विपक्ष के कस्ता रहेका छन्, त्यसको जानकारी खोजेका हुन्छन्। त्यो जानाकारी पत्रकारले दिनुपर्ने हुन्छ।’
कार्यक्रममा नेपाल घरेलु तथा महासंघका अध्यक्ष उमेशकुमार सिंहले उद्योगी व्यवसायीले गलत गरेको खण्डमा झकझक्याउने काम हुने गरेको भन्दै त्यसले व्यवसयीलाई राम्रो समेत हुने गरेको बताए। ‘मिडियाका कारण सच्चिने मौका मिल्छ’ उनले भने।
‘शारदा– ढुण्डीराज भट्टराई नाफिज पत्रकारिता पुरस्कार’को बारेमा
शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार हो। बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदा ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने गर्दछ। भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका हुन्।
पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराएका छन्।
‘सिबिफिन– नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’को बारेमा
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ हरेक वर्ष प्रदान गर्ने गर्दछ।
सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो। बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले यो पुरस्कार प्रदान गर्ने गरिन्छ।
पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रवद्र्धन गर्ने जनाइएको छ। ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिन्छ।
भविष्यमा यस पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गर्ने सहमतिसमेत भएको छ।
