सामुन्द्रिक तट सम्झाउने नारायणी किनार

न्भेष्टाेपेपर । जेठ २९, २०८०

चितवन : आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो । 

उहाँहरुको भनाइअनुसार नारायणी नदी किनारलाई भरतपुर महानगरपालिकाले ‘सिबीच मोडल’ मा विकास गरिरहेको छ । समुन्द्रिक किनारको झल्को दिने गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरले केन्द्रको समन्वयमा बजेट ल्याएर विकासका पूर्वाधार धमाधम निर्माण गरिरहेको छ ।
 
नारायणी नदीको पुलबाट उत्तरतर्फको भागलाई सरकारका तीन मन्त्रालयसँग महानगरपालिकाले सँगसँगै काम गरिरहेको छ । सोही किनारमा बनेको फुटपाथमा आज बिहान हिँडिरहेका सर्वसाधारणले पनि नदी किनारको विदेशको झल्को दिने गरी बनेकामा प्रशंसा गरिरहेका थिए । स्थानीय दियालो रोडका बटुकलाल श्रेष्ठले नदी किनारको विकास देखेर खुसी प्रकट गर्नुभयो ।

 सँगै रहनुभएकी विजया श्रेष्ठले भन्नुभयो, “पहिला फोहर थियो, थाङ्नाथुङ्नी फालेको देखिन्थ्यो, अहिले कस्तो राम्रो भएको छ ।” सर्लाहीका मनसारी विकलाई नारायणी किनार पहिलाको भन्दा अर्कै भएको महसुस भयो । उहाँले भन्नुभयो, “पहिले पनि आएको थिएँ, अहिले अचम्मै भएछ ।” स्थानीय श्यामलाल श्रेष्ठले नदी किनार निकै राम्रो भएको भन्दै सवारीसाधन भने आउन दिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “नदी किनारले रुप फेरेको छ, यसलाई अझै राम्रो बनाउनु पर्छ ।”
 
सो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम सम्पन्न गरेको छ । सो मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतका काम अन्तिम चरणमा पु¥याएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गरेको छ । नदीको सतहदेखि दुई दशमलव पाँच मिटर उचाइमा ११ खुट्किला निर्माण गरिएको छ । रु १५ करोड ९२ लाखमा सम्झौता भई काम सम्पन्न भएको छ ।

खुट्किलाको सतह दुई मिटर चौडा छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा छन् । माथिल्लो तह चार दशमलव पाँच मिटर फराकिलो बनेको छ । फराकिलो ठाउँमा मानिस बेलुका र बिहान हिँडडुल गर्ने गरेका छन् । 

सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षरोपण गरिएको छ । पाँच मिटरको फरकमा बिरुवा लगाइएको छ । महानगरपालिकाका इञ्जीनीयर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उहाँका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत दुई दशमलव चार किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने तीन पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेका छन् । 

रु छ करोड ५० लाख बजेटमा सो काम भइरहेको छ । यो काम ९० प्रतिशत सकिएको उहाँको भनाइ छ । यसै ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको दुई दशमलव पाँच किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।
 
तटबन्ध बाहेक रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम भएको हो । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिँदै छ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहने छन् ।
 
नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गरिँदै छ । आरती क्षेत्र वरपर बत्ती राखिने छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले झण्डै रु दुई करोडको लागतमा कामको तयारी गरेको छ । बोलपत्र आह्वान भइसकेकाले छिट्टै काम सुरु हुँदैछ । महानगरपालिकाका प्रमुख रेनु दाहालले विदेश जाँदा समुन्द्रिक किनारमा देखिएको सौन्दर्यकरणलाई मध्यनजर गर्दै यहाँ त्यही मोडेलमा विकास गरिएको बताउनुभयो । 

आफू पहिलो पटक प्रमुख भएकै समयदेखि यो काम अघि बढाइएको जनाउँदै उहाँले देख्ने गरी काम हुन थालेको बताउनुभयो । नारायणी किनारलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्यकरण गरी पर्यटकको नयाँ गन्तव्यका रुपमा विकास गरिएको उहाँको भनाइ छ ।
 
दाहालले भन्नुभयो, “महानगरको गौरवको आयोजनाका रुपमा लिएर यसलाई गुरुयोजना बनाइ काम गरिरहेका छौंँ ।” यसलाई अझै व्यवस्थित बनाउने गरी काम हुने उहाँको भनाइ छ । आउँदा दिनमा गुरुयोजनाअनुसारको काम सम्पन्न हुँदै गर्दा नदी किनार थप आकर्षक बन्ने उहाँले जानकारी दिनुभयो । आजभोलि बिहानबेलुका नदी किनारमा स्थानीयको निकै भीड हुने गरेको छ ।
 
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र समुन्द्रिक किनार हुने जनाउँदै नारायणी नदीलाई उपयोग गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “चितवन अब पर्यापर्यटन मात्रै होइन, जल पर्यटनका लागि पनि उपयुक्त थलो बन्दै छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *