कविता : “चरीको पुकार”
-- हृदय लेकाली
छन्द – शार्दूलविक्रीडित
चारा खोज्न भनी गए खसम ती छाडेर एक्लै यहाँ
सुत्केरी अबला भएँ यस घडी गाह्रो छ टिक्नै जहाँ
साना छन् बचरा छ भोक गहिरो चारा नभाको पल
साना यी बचरा बचाउँ कसरी ए दैव पार्यौ तल।
फर्केनन् सजिलै उनी किन अहो बित्यास ठूलै छ कि
सुत्केरी गुँडमा विलाप मनमा चट्टै भुलेकी हगि
पाएकी दुलही नयाँ खसमले बिर्से पुरानो गुँड
साँच्चै हो अथवा सिधा खसममा शंकालु भो यो क्षण।
बाटामा त कतै धराप मुनि ती पक्कै परेकी कसो
छ्या कस्तो मति हो कुरा अशुभ नै सोच्दैछ प्रायै जसो
पापी यो मनले हरेक पलमा के के कुरा सोच्दछ
साना यी बचरा र ख्वामित सधैँ संसार यै सोच्दछ।
यस्तो यो क्षणमा परेँ म कसरी हे दैव बिन्ती सुन
सुन्दैनौ मनले भने हृदयका यी चोट आफै गुन
तिम्रै हो रचना भने जगतको बेहाल बन्दै गर
आफ्ना यी सृजना भए सकलमा सन्तोष मात्रै भर।