नेपाल लाइफकाे ४८ प्रतिशत लाभांश घाेषणाः नगद भन्दा बाेनस धेरै दिने भयो
Investopaper, फाल्गुन १९, २०७५
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीलकाे फागुन १७ गते बसेको संचालक समितिको २८२ औं बैठकले आगामी वार्षिक सभाको मितिमा तत्काल कायम रहने शेयरधनीलाई आव २०७४/७५ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेकाे हाे ।
कम्पनीले शेयरधनीहरलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशतका दरले १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता र २३ दशमलव ५ प्रतिशतका दरले १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२ दशमलव २८ रुपैयाँ दिने भएको छ ।
प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
हाल नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
त्यसैगरी कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले यस अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६ दशमलव ५२ गुणा बढी छ।