‘वर्ल्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

इन्भेष्टाेपेपर । मङ्सिर २४, २०७७

काठमाण्डाै – वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ ।

वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।

यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिनुभयो ।

सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल हुनुभएको छ । प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी हुनुभएको थियो । सहभागी पाँच खेलाडीमा चार पोखराका र एक महिला सुर्खेतको हुनुहुन्छ ।

प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएशनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो । एशोसिएशनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *