सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
Investopaper, कार्तिक २८, २०७६
काठमाडौँ — नेपालले सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ढाकामा बिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लिग चरणबाट अपराजति यात्रा पार गर्दै च्याम्पियन बनेको हो। फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।
नेपाली महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो। कात्तिक २३ गते सुरु भएको उक्त प्रतियोगितामा नेपाल, माल्दिभ्स, कीर्गिस्तान, अफगानिस्तान र बंगलादेश गरि ५ मुलुकको सहभागिता थियो।
