कांग्रेस महाधिवेशनः गुल्मीबाट भण्डारीसहित ११ जनाको उम्मेदवारी
इन्भेष्टाेपेपर । आश्विन २२, २०८३
गुल्मी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि गुल्मीबाट ११ जनाले उम्मेदवारी दिएका छन्। यस जिल्लाबाट कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीसहित ११ जनाले उम्मेदवारी दिएका हुन्। उम्मेदवारी दिएका सबै जना अहिले चुनावी मैदानमा छन् र प्रचारप्रसारमा व्यस्त छन्।
डा. भण्डारीले कांग्रेसको उपसभापति पदमा खुलातर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ। पार्टीभित्र लामो समयदेखि वैचारिक, सङ्गठनात्मक तथा नीतिगत बहसमा सक्रिय रहँदै आउनुभएका उहाँले कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको बताउनुभयो। पार्टी नेतृत्वमा नयाँ सोच, स्पष्ट दृष्टिकोण र कार्यकर्तामैत्री व्यवहार आवश्यक रहेको भन्दै त्यसका लागि आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ।
कांग्रेसभित्र स्पष्ट विचार राख्ने तथा समसामयिक राजनीतिक विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएका नेताका रूपमा परिचित भण्डारी पार्टी सङ्गठनलाई बलियो बनाउने, युवालाई नेतृत्वमा अवसर दिने तथा कांग्रेसलाई जनतासँग थप जोड्ने विषयमा सक्रिय रहँदै आउनुभएको छ।
केन्द्रीय सदस्य महिला खुलातर्फ विष्णुकुमारी सापकोटाले उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी सदस्यसमेत रहनुभएकी सापकोटा हाल राष्ट्रिय सभा सदस्य हुनुहुन्छ। उहाँ पार्टी सङ्गठन तथा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।
भगवती काफ्ले भण्डारीले पनि केन्द्रीय सदस्य महिला खुलातर्फ उम्मेदवारी दिनुभएको छ। उहाँ पार्टी सङ्गठनको काममा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
केन्द्रीय सदस्य प्रत्यक्ष खुलातर्फ इन्जिनियर अमृत ज्ञवालीले उम्मेदवारी दिनुभएको छ। उहाँले युवाका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ।
केन्द्रीय सदस्य आदिवासी जनजातितर्फ छन्दबहादुर पहराई मगरले उम्मेदवारी दिनुभएको छ। पार्टी सङ्गठनको काममा निरन्तर सक्रिय रहनुभएका उहाँले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १० वर्ष काम गर्नुभएको थियो। उहाँ विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत बन्नुभएको हो।
त्यसैगरी, केन्द्रीय सदस्य लुम्बिनी प्रदेश खुलातर्फ धनेन्द्र कार्की र मोतिलाल भण्डारीले उम्मेदवारी दिनुभएको छ। कार्की लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा पूर्वसांसद हुनुहुन्छ भने भण्डारी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य हुनुहुन्छ।
लुम्बिनी प्रदेश, ३५ वर्षमुनिका युवा महिलातर्फ सुष्मा पाण्डेले उम्मेदवारी दिनुभएको छ। पेशागत तथा विषयगत क्षेत्र खुलातर्फ सीए पदम भट्टराईले उम्मेदवारी दिनुभएको छ। विशेष महाधिवेशनपछि उहाँ पार्टीको केन्द्रीय लेखा समिति सदस्यसमेत हुनुहुन्थ्यो।
प्रजातन्त्र सेनानीतर्फ मुक्ति कँडेल र अल्पसङ्ख्यकतर्फ पदमबहादुर खवासले उम्मेदवारी दिनुभएको छ। उम्मेदवारी दिएका सबै जना पार्टी सङ्गठनको काममा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।
