नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

इन्भेष्टाेपेपर । आश्विन २२, २०८३

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताउनुभएको छ ।

बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको दाबी गर्नुभयो ।

“मैले अरू कसैले नगरेको काम गरेको छु । मैले घमण्ड गरिरहेको छैन, म तपाईंहरूलाई तथ्य मात्र बताउँदैछु । मैले आठवटा युद्ध समाधान गरेँ,” उहाँले भन्नुभयो ।

ट्रम्पले नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै पुरस्कार नपाए पनि आफूले गरेका कामको महत्त्व कम नहुने बताउनुभयो । उहाँले सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको विषयमा समेत प्रश्न उठाउनुभयो ।

गत वर्ष नोबेल शान्ति पुरस्कार पाउनुभएकी भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेटको उल्लेख गर्दै ट्रम्पले मचाडोसले आफ्नो पुरस्कारको पदक आफूलाई दिएको बताउनुभयो ।

ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापार रणनीति र महसुलमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन सफल भएको दाबी गर्दै आएको छ । तर डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिएको र युक्रेनमा स्थायी शान्ति कायम हुन नसकेको भन्दै ट्रम्पको दाबीमाथि प्रश्न उठाइएको छ । मध्यपूर्वमा इरानसँग सम्बन्धित निरन्तर तनावले पनि उहाँको शान्ति प्रयासलाई चुनौती दिएको छ ।

सन् २०२६ को नोबेल शान्ति पुरस्कार नर्वेको नोबेल समितिले शुक्रबार, अक्टोबर ९ मा घोषणा गर्ने तय भएको छ । (रासस/एएनआई)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *