धेरै दिनपछि नेप्से दोहोरो अङ्कले बढ्यो

Investopaper, कार्तिक २५, २०७६ 

काठमाण्डाै – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरैपछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता शेयर रु ५४ करोड ९९ लाख ९८ हजार २४१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर घटेको छ । त्यस उपसमूहको शेयर ०.६ विन्दुले घटेको छ । यस्तै बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बीमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बीमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । एनएमबी बैंक १३ करोड ९२ लाख १० हजार १९५ रुपैयाँ बराबरकाे शेयर खरिद-बिक्री सहित शीर्ष स्थानमा रह्यो ।

प्रभु बैंक सात करोड ३३ लाख ६८ हजार ३ सय २ रुपैयाँ, माछापुच्छ्रे बैंक तीन करोड ५९ लाख ३८ हजार ३०७ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर तीन करोड २१ लाख ३३ हजार २४ रुपैयाँ, प्राइम बैंक दुई करोड १३ लाख तीन हजार ५८८ रुपैयाँ र नेपाल बैंकको एक करोड ७६ लाख ६३ हजार ५३० रुपैयाँ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखु खोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका शेयरधनीले ७.५८ प्रतिशतले कमाए । 

त्यस्तै, एनआईबीएल समृद्धि फन्ड ५.७७, खानीखोला जलविद्युत् कम्पनी ३.५७, सिटी एक्सप्रेस फाइनान्स १.९६, हिमालयन ऊर्जा विकास कम्पनी १.९४ र मेगा बैंकको संस्थापक शेयरका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए  ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *