अमेरिका-इरान वार्तापछि तेलको मूल्य घट्यो

इन्भेष्टाेपेपर । आश्विन ७, २०८३

न्युयोक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबिच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८.९१ अमेरिकी डलरमा झरेको छ भने अमेरिकी कच्चा तेलको प्रमुख बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८९.९३ डलरमा कारोबार भएको छ ।

मध्यपूर्वमा फेब्रुअरीमा युद्ध सुरु भएपछि पटक-पटक १०० डलरभन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय उक्त स्तरभन्दा तल आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटका क्रममा ट्रम्पले अमेरिका–इरान प्रतिनिधिबीच भएको तीन घण्टा लामो बैठक ‘धेरै राम्रो’ र ‘अत्यन्तै फलदायी’ भएको बताउनुभयो । उहाँका अनुसार दुवै पक्षबिच अर्को बैठक पनि निकट भविष्यमै हुने तय भएको छ ।

ट्रम्पको यो भनाइ संयुक्त राष्ट्रसंघको महासभामा उहाँले इरानप्रति कडा धारणा व्यक्त गरेको केही घण्टापछि आएको हो । उहाँले इरानसँग सम्झौता गर्ने वा ‘इस्लामिक गणतन्त्रलाई छिट्टै समाप्त गर्ने’ विषयमा आफूले ठूलो निर्णय लिनुपर्ने बताएका थिए । तेहरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणबाट द्वन्द्व सुरु भएको करिब सात महिनापछि पनि अमेरिका र इरानबिचको तनाव कायमै छ । 

इरानले स्ट्रेट अफ हर्मुज बन्द राखेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि प्रतिरोधात्मक नाकाबन्दी जारी राखेको छ । यसैबिच, साउदी अरबले पनि द्वन्द्वका कारण बन्द भएको आफ्नो ईस्ट-वेस्ट पाइपलाइन सञ्चालन पुनः सुरु गर्न थालेको बताइएको छ । उक्त पाइपलाइन स्ट्रेट अफ हर्मुजको अवरोधलाई छल्दै तेल निर्यात गर्न साउदी अरबका लागि महत्वपूर्ण मार्ग हो । 

साउदी अरबले यही महिनामा इराकबाट प्रक्षेपण गरिएका ड्रोनका कारण पाइपलाइन बन्द गर्नु परेको जनाएको थियो । ब्लुमबर्गका अनुसार साउदी अरबले यही साताको अन्त्यतिरबाट तेल निर्यात पुनः सुरु गर्ने तयारी गरेको छ । (रासस/एएफपी) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *