रहरमा सिकेको चित्रकला तथा मूर्तिकला आम्दानीको माध्यम बन्दै

न्भेष्टाेपेपर ।  फागुन १२ २०७९

घोराही ।  चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकला लोभलाग्दो छ । ३४ वर्षीय मिठ्ठुले हिँड्डुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने त्यसलाई दुरुस्त चित्रमा उतारिदिनु हुन्छ । 

उहाँमा भएको त्यही कलाको खुबीले चित्रकला तथा मूर्तिकलामा लागेको छोटो समयमै सयौँ चित्र तथा मूर्तिहरू बनाउनुका साथै रहरमा सिकेको सिपबाट राम्रो आम्दानी लिनुभएको छ । 

थारू कला, संस्कृति र जीवनशैलीमा आधारित चित्र तथा मूर्तिकलामा विशेष दख्खल राख्ने कैलाली जिल्ला जानकी नगरपालिका–३ भगतपुर निवासी मिठ्ठु पश्चिम तराईका जिल्लामा लोकप्रिय चित्रकारका रूपमा चिनिनुहुन्छ । 

घरको कमजोर आर्थिक अवस्थाका कारण १२/१३ वर्षको उमेरमा भक्तपुरमा साहुको घरमा कामदारका रूपमा बसेर अध्ययन गर्नुभएको थियो ।  त्यहाँ उहाँले उच्च शिक्षामा राम्रो सफलता प्राप्त गर्न नसकेपछि सोही घरमा देखासिकी गरेर चित्रकलामा अनौपचारिक शिक्षा लिनुुभएको थियो । 

त्यहाँ आर्जन गरेका ज्ञानको आधारमा बनाइएका चित्रबाट राम्रो आम्दानी प्राप्त भएपछि विजेश्वरी फाइन आर्टमा कक्षा ११ र १२ मा चित्रकलासम्बन्धी औपचारिक अध्ययन गर्नुभयो । 

त्यहाँ चित्रकलासँगै मूर्तिकलासम्बन्धी ज्ञान सिकेको उहाँको भनाइ छ । । पढाइका क्रममा उहाँमा भएको चित्रकला तथा मूर्तिकलासम्बन्धी सीपलाई गुरुहरू अनिल महर्जन र रविन महर्जनले चित्रकला र पूर्णकाजी शाक्यले मूर्तिकलासम्बन्धी धेरै ज्ञान सिकाउनुभयो । 

उहाँका अनुसार लुम्बिनी तथा सुदुरपश्चिमका विभिन्न जिल्लामा पार्क, होमस्टे, मन्दिर, दरबार, ठूला होटेलहरूलगायतका विभिन्न पर्यटकीय ठाउँमा चित्र तथा मूर्ति बनाउँदै आउनुभएको छ ।  

नेपाल ललितकला क्याम्पसमा स्नातक तह अध्ययनरत उहाँ मन लागेको विषय अध्ययन गरे सफल भइने बताउनुहुन्छ । 

‘मलाई चित्रकला पढ्न मन थियो तर सुरुमा कमर्स विषयमा प्लस टु पढेँ पनि पास गर्न सकिनँ’, उहाँले भन्नुभयो, ‘तर पछि चित्रकला पढ्न थालेँ, त्यहाँ फेल नै नभएर स्नातक तहको अन्तिम तयारीमा छु ।’ कैलालीमा नवयुग आर्ट स्टिडियो खोल्नुभएका उहाँले पढाइसँगै व्यावसायिक रुपमा चित्रकला तथा मूर्तिकलालाई अघि बढाउनुभएको छ । 

थारु समुदायका अग्रजहरूको कुरा सुनेर दंगीशरण राजाको जीवनशैली बारेमा अध्ययन गरेर बनाएको मूर्तिलाई धेरैले मन पराइदिनुभएको उहाँ बताउनुहुन्छ । 

उहाँले २०७३ सालमा तत्कालीन थारू राजा दंगीशरणको मूर्तिसँगै सङ्ग्रहालयमा चित्रहरुसँगै अन्य मूर्तिसमेत बनाउनुभयो । चाखैरासँगै मुख्य रुपमा पाल्पाको रानीमहल दरबार, बाँकेको गाभर होमस्टे, बर्दिया बर्काभौँरा र बाँसगडीचोक र कैलालीको थापापुरलगायतका विभिन्न ठाउँमा २५० बढी चित्र तथा करिब एक सयको हाराहारीमा मूर्तिहरू निर्माण गरिसक्नुभएको छ । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *