अब दैनिक २०-२२ हजारको पीसीआर परिक्षण गर्ने तयारी
इन्भेष्टोपेपर । जेष्ठ ३२, २०७७
काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताउनुभएको छ ।
नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उहाँले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री रावतले भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा कतिपय भारतबाट आएका नागरिक सङ्क्रमित भएको बताउनुभयो । सुरुमा सुदूरपश्चिममा केही सङ्क्रमित देखा परिसकेपछि स्वास्थ्य मन्त्रालयले ३५ जना डाक्टर त्यहाँ पठाएको अवगत गराउँदै कोरोना नियन्त्रण गर्न सरकारका तर्फबाट गर्ने सबै काम गरिरहेको जानकारी दिनुभयो ।
राज्यमन्त्री रावतले नेपालमा कोरोना सङ्क्रमित बढ्नुमा विदेश तथा भारतबाट आएका नागरिक मुख्य कारण हुन् भन्नुभयो । सरकारले कर्णाली प्रदेशलाई कोरोना सङ्क्रमितबाट बचाउन ग्रिनजोनमा राख्न खोजिएको प्रयास पनि असफल भएको उल्लेख गर्नुभयो । भारतमा भएका दाजुभाइ गाउँ आउँदा सङ्क्रमित भएर आएको भन्दै उहाँले गाडीमा पनि हुलमुल भएर सङ्क्रमित हुनुपरेको जानकारी दिनुभयो ।
यहाँ आइसकेपछि क्वारेन्टाइन व्यवस्थापन नभएर कतिपय दाजुभाइ सङ्क्रमित हुनुभयो । मन्त्री रावतले अधिकांश बाहिर गएर आएकालाई सङ्क्रमण भएको अवस्था छ भन्नुभयो । उहाँले भारतबाट आउनेको सङ्ख्या कम नभएसम्म कोरोना नियन्त्रण गर्न सकिँदैन भन्नुभयो । सुरु सुरुमा दैनिक २५ हजारसम्म नेपाल भित्रिएका थिए भने पछिल्ला दिनमा त्यो सङ्ख्या घटेर पाँच/छ हजारमा झरिसकेको बताउनुभयो ।
रावतलले अहिले नेपाल प्रवेश गर्ने नाका पनि कम गरिएको छ । अब नेपाल आइरहेका नेपाली नागरिकको पीसीआर परीक्षणमा प्राथमिकता दिनुपर्दछ । सङ्क्रमितलाई आइसोलेसनमा राख्ने र सङ्क्रमण नदेखिएकालाई घर पठाउनुपर्दछ भन्नुभयो । उहाँले पहिले परीक्षण गर्न विदेश पठाइने गरेकोमा अहिले प्रत्येक दिन पाँच हजारको पीसीआर परीक्षण नेपालमै हुनुलाई ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।
