दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो, आवागमन अवरुद्ध

इन्भेष्टाेपेपर । आश्विन १४, २०८३

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवागमन रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज बिहान पानीको बहावका कारण पुलको दोधारातर्फको पिल्लर भाँचिएको हो । पिल्लर भाँचिएपछि पुलको करिब पाँच–छ मिटर भाग उठेकाले आवतजावतमा समस्या भएको छ ।

प्रहरी नायब उपरीक्षक रावतले पुलमा आवागमन रोकिएको र सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पुलको क्षतिग्रस्त भाग मर्मत गर्नुपर्ने अवस्था रहेको छ ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले पानीको बहावका कारण बिहान पुलको पिल्लर भाँचिएको बताउनुभयो । उहाँका अनुसार पिल्लर भाँचिएपछि पुलबाट आवागमन पूर्ण रूपमा रोकिएको छ । प्राविधिक टोलीले पुलको निरीक्षण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

करिब दुई दशकअघि निर्माण भएको उक्त झोलुङ्गे पुलले भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकालाई जोड्दै आएको छ । पुल सञ्चालनमा आएपछि दोधारा–चाँदनी क्षेत्रको आवागमन सहज हुनुका साथै मुलुकको मूलधारसँगको सम्पर्कसमेत सहज भएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *