सेन्सर जडित तास बरामदः कसलाई कुन पर्याे थाहा पाइने !

Investopaper, कार्तिक २६, २०७६ 

काठमाडौं: रहस्यमयी तरिकाले जुवा खेल्न प्रयोग हुने ताससहितको सामाग्री प्रहरीले बरामद गरेको छ।

लामो समयको सूचनापछि अनुसन्धान गर्दा महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले आइतवार सेन्सरजडित तास बरामद गरेको हो। प्रहरीले बरामद गरेको तासमा खेल्ने व्यक्तिले कसले जित्ने र कोसित के पर्‍यो भन्ने प्रष्ट देखिने बताइएको छ।

‘हामीलाई नै अचम्ममा पार्‍यो। सबै सेन्सरजडित छ। कोठामा बसेर कसलाई के तास परेको छ भन्ने प्रष्टै छुटिने रहेछ,’ वृत कालिमाटीका प्रमुख डिएसपी रुगम कुँवुरले भने।

सीतापाइलाबाट तासलगायतका अन्य सामाग्री स्टोर गरी विक्री वितरण गर्ने सर्लही बरहथवा नगरपालिका वडा ९ का ३६ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको कोठामा प्रहरीले सेन्सरजडित ब्याग, एयरफोनलगायत अन्य सामाग्रीसमेत बरामद गरेको डिएसपी कुँवरले जानकारी दिए।

व्यापारी कार्कीले एक सेट तासको एक लाख रुपैयाँसम्म विक्री गर्ने गरेको देखियो। एक सेट तासमा एउटा मोबाइल, एयरफोनसमेत रहेको प्रहरीले जनाएको छ। जसको माध्यमबाट कसलाई के तास पर्‍यो सहजै जानकारी हुने डिएसपी कुँवरले बताए। ‘एउटा तासको पाँच सय र सबै सेटको एक लाख रुपैयाँमा विक्री गरेको देखियो,’ डिएसपी कुँवरले भने।

प्रहरीले कोठाबाट कपडा, अन्य सामाग्रीमासमेत सेन्सर जडान गर्नुको रहस्य भएकाले अनुसन्धान भइरहेको जानकारी दिएको छ। तास खेल्ने बेला प्रयोग गरिने पैसामासमेत सेन्सर जोडिएको पाइएको छ। सेन्सर जोडिएका एक हजार रुपैयाँका १४ थान नोटसमेत प्रहरीले बरामद गरेको छ। 

तास लगायत अन्य सामाग्री चीनबाट ल्याएको प्रहरीको अनुसन्धानमा देखिएको छ। अहिलेसम्म कति तास विक्रि भए भन्ने खुल्न सकेको छैन। याे समाचार पहिलाेपाेष्टमा छापिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *