कविता : शिशु प्रजातन्त्र
-- कुल थापा
मैले कितावका पानाहरुमा पढेको प्रजातन्त्र
मेरा बाबु बाजेले भोगेको
श्रुति र किम्वदन्तिहरुको प्रजातन्त्र
आज,
सयौँ सपूतहरुको वलिदानबाट
भर्खर जन्मिएको प्रजातन्त्र
भाषण र गोष्ठीहरुमा फलाकिएको शिशु प्रजातन्त्र
अनि यही शिशुलाई संरक्षण दिने लठैतहरु,
साच्चै,
सुत्केरीको निउँमा टाउको खाँदैछन् वा
जन्ती बनेर भोज भतेरमा जाँदैछन ?
परीवेश सुनसान सुनसान जस्तै छ
धर्तिमा पोखिएको रातो रगत
विस्तारै फिका फिका जस्तो लाग्दै छ
संस्कारहरु नबढदै, नग्राहरु बढे जस्तो छ
शिशु त उन्मत्त बैँसले मात्तिएको पो हो कि ?
जनतामाथि महँङ्गीका नङग्राहरु गाडदै छ ।
संगीन र तातो गोलीले सयौँलाई चुमिसकेछ
सयौँलाई कालकोठरीले स्वागत गरिरहेछ
दर्जनौ नावालिकहरुमाथि रमण गर्दा
गुहार दिन सक्दैन, चित्कार सुन्न सक्दैन
गन्तव्यको त कुरै छाडौँ, बाटो समेत छुँदैन ?
तर, तर ……
यो शिशु प्रजातन्त्र बचाउने नारा
सदन, सडक र सर्वोच्चमा घन्किरहेछ
कसले शिशुको थिच्यो घाँटी ?
कसले कुल्च्यो च्यात्यो छाति ?
लाग्छ उत्तर छैन, तर प्रश्न उहि छ
लाग्छ, बेतुक होसियारी र भजन किर्तन ….
बरु सत्ताको लुछाचुँडी, निरन्तर रिलेरेस
भिमकाय संरचनाको आर्थिक भारले
आक्रान्त बनेर निस्सासिँदो छ ।
हलक्क बढछ कि भनेको कक्रिय जस्तो छ
फूलको नाममा मालीहरु आफै फक्रिए जस्तो छ
तानातान र गठवन्धनमा विरुवै झोक्रिए जस्तो छ
मेरो आँखाले देखेको “शिशु प्रजातन्त्र”
मेरो छातिमै समेटिएको “शिशु प्रजातन्त्र” ।
