कविता : विष वृक्ष

-- रूद्र ज्ञवाली

छन्द – शार्दूलबिक्रीडित

ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली खुबै ठोकियो
झण्डा बोक्न भन्यौ बिना अदवका झण्डा निकै बोकियो
आगो झोस्न भन्यौ बिचार नगरी झोस्यौं भएको जल्यो
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

मुठ्ठी कस्न भन्यौ कसेर बलियो मुठ्ठी कतै ताकियो
मैलो छ्याप्न भन्यौ अकारण त्यसै विष्टा हिलो छ्यापियो।
खाल्टो खन्न भन्यौ खन्यौं सुरुङ नै लाग्दैछ बेअर्थको
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

खेती लुट्न भन्यौ शिरोपर गरी खेती लुटी खाइयो
कालो पोत्न भन्यौ बिना कसुरमा कालो कतै लाइयो ।
खुट्टा भाँच्न भन्यौ कुटेर घनले खुट्टा सयौं भाँचियो
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

यै हो मुक्ति भनी अराजक बनी गर्दा सुन्यौँ भाषण
भोका पेट थिए परन्तु डरले सित्तै भर्‌याैँ राशन
ढाल्नु पर्छ भन्यौ पुरातन कुरा ढाल्दा पहाडै ढल्यो
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

ए ! काला नरमेधका रचयिता ए ! हन्तकालीहरू
खोस्यौ सन्तति युद्धका हवनमा होम्यौ बनाई चरू
त्यो कालो नरमेध यज्ञ सकियो के प्राप्ति कस्तो मिल्यो ?
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

भोका छन् अझ भोकमा र तिनको नाङ्गो छ काया अझै
भ्रष्टाचार उफानमा छ अहिले वर्षादको भेलझैँ
पल्टायौं लुटतन्त्र भन्न भनियो के पल्टियो, पल्टियो ?
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

सत्ता चल्छ रिमोटबाट त्यसको कुञ्जी कता हो कता ?
कौडीका दर बिक्छ नागरिकता त्यस्तै छ स्वाधीनता
साँच्चै अक्करमा छ देश अहिले यो हुण्डरी के चल्यो ?
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

होला अमृत नै भनेर पहिले सँघीयता मानियो
हुन्थ्यो अमृत के रहेछ विषझैँ भोग्दा यहीँ जानियो
जे होला भनियो भएन गतिलो विश्वास हाम्रो गल्यो
रोप्यौं अमृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *