कविता : वसन्त
— युगकवि सिद्धिचरण श्रेष्ठ
छन्द – वंशस्त
समस्त माधुर्य लिएर साथमा
छरेर सौन्दर्य विशाल विश्वमा
बसन्त मेरो हितमा निमग्न भो
अहो! छ कस्तो रस-रागयुक्त यो ।
नवीनता नाच्दछ पुष्प-पुञ्जमा
कुहू-कुहू कोकिल बोल्दछ कुञ्जमा
प्रमोदले हृद्तल पार्छ शीतल
वसन्त मेरै हितमा छ तत्पर।
नचाइ चारैतिर पल्लवी द्रुम
बिछाइ नाना थरिका नयाँ तृण
वसन्त मेरो कति गर्छ स्वागत
अहो! अहो !! सुन्दर यो सजावट ।
