कविता : चियाको बोट

-- कृष्ण धरावासी

उच्चता हरेकको आकाङ्क्षा हो
अग्लो हुँदै जान पाउनु हरेकको हक हो
तर निरन्तर भाँचिँदै, निमोठिँदै
होचिँदै रहनु, होचिई नै रहनु
जीवनको रूप भएको छ ।

जति पाउलिए पनि
जति मुना पलाए पनि
जति नयाँ–नयाँ टुसा हाले पनि
क्रूर नङ्ग्राहरूले निमोठिँदै जानुपर्ने
हरेक पल्टको आकाङ्क्षा फाँडिँदै जानुपर्ने
आफ्नो अनुकूल केही हुन नसक्ने
सधैँ अरूकै अनुकूल भइदिनुपर्ने
यो चियाको बोटजस्तो किन छ जिन्दगी ?
यो चियाको बोट झैँ किन कुण्ठित छ जिन्दगी ?

आफै मर्न पनि नसकिने
फेदै लगाएर कोही ढाल्न पनि नआउने
जहिले पनि प्राण मात्र राखेर
फेरि ‘बौरी–बौरी’ भनिरहने
क्रूरहरूका बीच नमर्नुकै कारणले
चियाको बोटझैँ किन विवश छ जिन्दगी ?

शोषणको विरोधमा लेखिएका पुस्तकहरू
एउटा देशजत्रो दराजमा पनि अट्दैनन् होला
अन्यायको विरोधमा मर्नेहरूको चिहान
एउटा महादेशजत्रै भूमिमा पनि अट्दैनन् होला
तर पनि यसलाई
न इतिहास दोहोरिएको भन्नु
न भविष्य निफनिएको
किन यो समय सधैँ वर्तमानझैँ लाग्छ
कुनै परिवर्तनविहीन, कुनै अभिलाषाविहीन ।

मलाई चियाको बोटसँग विरोध छ
म जसरी भए पनि एक दिन
कल्पवृक्ष नै हुन्छु, झाँगिन्छु
निहुरिनु नै परोस्, बरु मन्जुर छ
सिमल हुन नसके बाँसै सही
तर म अग्लो हुन्छु–हुन्छु।

सयौँ वर्षदेखि एकै ठाउँ, एउटै बारीमा
फाँडिरहेछन्, निमोठिरहेछन्, मुन्टो चुँडिरहेछन्
कहिल्यै आकाश हेर्न नदिई मुन्टो चुँडिरहेछन्
र भन्छन्—
चिया संसारप्रसिद्ध पेय सबैको प्यारो हो ।

त्यो प्यारो म,
समयको सारथि हुनुपर्यो,
यद्यपि अब म यो जटिल र कालो नाटक गर्दिनँ
 म चियाको बोट हुन सक्दिनँ

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *