कविता : मदिरा
-- हृदय लेकाली
छन्द – शार्दूलविक्रीडित
मान्छे मात्छ सधैँ पिएर मदिरा बेहोस बन्ने गरी
लाजै सर्म पचाइ हुन्छ रमिते ढल्ने र उठ्ने गरी
कस्तो यो मदिरा अचम्मसितको मान्छे बिगार्ने कति
जानाजान पिए सबै मनुजको गाल्ने छ राम्रो मति।
कस्तो बस्तु हरे जहाँ जुनसुकै बेला नि पाइन्छ यो
चिन्ता कष्ट बिछोड या मिलनमा सम्झेर खाइन्छ यो
बिहा भोज भतेर पास्नि जहिले यो नै त हो चाहिने
गल्ली चोक कुनाकुना सहजमा धामा विना पाइने।
नातो जोड्छ कतै फुटाल्छ गहिरो नातो बनेको घर
साह्रै घात छ यो हरेक पलमा पर्छौ र यस्को भर
राम्रो मानिस पार्न सक्छ मदिरा ढोँगी धतङ्गो सधैँ
आफ्नो काम बिगार्छ मानिस सबै बन्दै लफङ्गो सधैँ।
रक्सीको लतमा फसे जन भने गाह्रो छ मान्छे हुन
सारा जीवन बित्छ रोइ उसको सक्दैन लक्ष्यै छुन
रक्सी या मदिरा छ नाम यसको कामै नलाग्ने चिज
मान्छेको मति नै सखाप सजिलै पार्ने हरामी चिज।
बूढा बाल युवा बिगार्छ सजिलै भन्दैन टाढा बस
रक्सीले घरबार नै जुलुम भै भन्ला खरानी घस
रक्सी मात्र पिएर हुन्न दुनियाँ अन्नै त हो चाहिने
यस्को सेवनबाट दूर रहने मान्छे त हो चाहिने।