कविता : कुर्सी
-- विनोद न्यौपाने
कहिल्यै पछि नहट्ने
अग्रगतिको छलाङ् मार्न
सधै अघि बढिरहने
जति खाएर ढाडिए पनि
क्षण भरमै ख्याउटे बन्दै
काटिएर आधा बन्दा पनि
एक बाट दुई भाई भयौं भनी
जूकाको जीवन चक्र जस्तै
मोहको शक्तिले बेष्टित
कति प्यारो छ कुर्सी।
हत्या,लूट र झूटको खेतीमा
जनताको रगतद्वारा सिञ्चित
जनहितको मन्त्र जप्दै
बकुल्लाको ध्यानमा
माछाको शिकार झैं
जनताको शोषणको मान्यताप्राप्त
कर बल र छलद्वारा शोषित
ग्लुस्टिक लगाइएको मोहित कुर्सी।
डलरको प्रलोभनबाट
मौलिक धर्म र संस्कृति बेच्दै
गरीवि उन्मुलनको श्लोगान जप्दै
चन्दा बटुल्दै
मूल्यबृद्दिमा सहयोग गर्ने
लालची छ कुर्सी।
जात धर्म भाषा र क्षेत्रियताको
अलाप गर्दै
बसुधैब कुटुम्बकं समाज
तहस नहस पार्ने
लाम्खुट्टे र उडूस पाल्न विवस
करको भारले थलिने जनताको
मालिक बन्ने कुर्सी।
भोका कुकुर, गिद्द र स्यालको बीचमा
रोग भोक र शोकले कम्पायमान
निरीह जनताको टाउकोमा
घिरिङ् खेल्न बैधता प्राप्त
सुरक्षाको घेरामा छ कुर्सी।
सबैको ङ्यार ङ्यार र ङुर् ङुरको
घेरामा अडिएको
म र मेरोको लागि ठड्याइको
देख्दा आकर्षक र दयावान
व्यबहारमा
शोषण र दमनको चक्र
सिनोको रूपमा रहेको
कुकुर गिद्द र स्यालको
झम्टाईमा रहेको
कंकालरूपि जनताको नाऊमा
लुट्न भुट्न र चुट्न सक्षम
कस्तो रहेछ कुर्सी।।