कविता : सत्मार्ग र सत्कर्म
— नारद गाैतम
छन्द : शार्दूल विक्रीडित
पुर्खाले जुन देव पूजन गरे त्यो मार्ग सत्कर्म हो ।
मानेथे जुन धर्मसंस्कृति त्यही यो देशको मर्म हो ।।
त्यो संरक्षण गर्नु मान्नु सबको कर्तव्य दायित्व हो ।
नेपाली पहिचान हो सकलको यो मात्र अस्तित्व हो ।।
भाषाभेषभुसा समादर प्रथा सेवा सदाचारले ।
राख्छन् जीवित देश छैन त भने ढाक्छन् दुराचारले ।।
जे संस्कार समाजमा छ अघिको त्यस्को जगेर्ना भए ।
यो हो राष्ट्रियता ज्वलन्त नरहे मान्छे सबै नाङ्गिए ।।
ती हुन् गौरव राष्ट्रका सब कुरा सौन्दर्य हुन् भूमिका ।
नेपालीपन हुन् विरासद यिनी कैल्यै नहोऊन् फिका ।।
बत्ती हो इतिहास तेल नथपे चम्कन्न यस्को शिखा ।
चुस्लान् तेल फुटेर भित्र सबले खोजी निखारौं लिखा ।।
ठूलो हुन्छ नि जन्मभूमि यसको बढ्दै गरोस् मान्यता ।
पाओस् विश्व सुकीर्ति यो मुलुकको सत्कार्यमा दक्षता ।।
यस्तो स्वर्णिम कालको उदय होस् यो देश होस् चन्द्रमा ।
हाम्रो भिन्न ध्वजा प्रशंसित रहोस् प्यारो बनोस् विश्वमा ।।
हाम्रो उच्च हिमालका किेरणले संसार तानून् सधै ।
पाखाभित्र हुने नयाँ प्रकृतिमा सद्भाव जागून् सधै ।।
पाओस् पौरख आत्मनिर्भर बनोस् जाऊन् हटून् दीनता ।
साराको मन भित्र गद्गद बनोस् टाडै पुगोस् हीनता ।।
त्यो हो दुष्ट कुपुत्र देशहितमा जो काम गर्दैन नि ।
स्ले देश बिगार्छ विकृति थपी त्यो मूर्ख हो जो पनि ।।
स्वार्थी धूर्त प्रमत्त पागलहरू यो देश मास्छन् पनि ।
त्यागी जो छ नि देशभक्त तिनले सारा सुधार्छन् तनि ।।