लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
इन्भेष्टोपेपर । जेष्ठ ३०, २०७८
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।
यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गर्नुभएकाे थियाे। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून कार्यान्वयनका विषयमा आफ्नो अरुचि नरहेको बताउनु भयाे।
उहाँले प्रदेशसभाका सदस्य लोकतन्त्रमा आलोचनाले सही बाटोमा अघि बढ्न निर्देश गर्ने र सही बाटो पत्ता लगाउने विधि छलफल भएको बताउनु भयाे। मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रुपमा सरकारसँग बहुमत छ ।’
उहाँले नेकपा (एमाले)सँग ३९ र जनता समाजवादी पार्टीसँग छ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेशसभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाउनुभयाे। कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको उल्लेख गर्दै उहाँले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट पार्नुभयाे।
उहाँले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम स्थानीय पालिकाले गरेको जानकारी दिँदै राजश्व बाँडफाँडको काम भएको छ तर कम पालिकाबाट ४० प्रतिशत राजश्व प्राप्त गरेको बताउनु भयाे । उहाँले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पार्नुभयाे। (रासस)
