राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्रले निर्धारण गर्छ : पूर्वप्रधानमन्त्री कार्की

इन्भेष्टाेपेपर । भाद्र २३, २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गर्नुभएकाे छ ।

‘जेन-जी’ आन्दोलनको एक वर्ष पुगेको सम्झनामा आज सामाजिक सञ्जालमार्फत उहाँले निर्दाेष नवयुवाले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा ज्यान गुमाउनु परेको घटना स्मरण गर्नुभएकाे छ ।

पूर्वप्रधानमन्त्री कार्कीले आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कयौँ युवाले जीवनभर अपाङ्गताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनु परेको उल्लेख गर्नुभएकाे छ । ‘त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन,’ उहाँको भनाइ छ ।

‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,’ उहाँले भन्नुभएकाे छ।

पूर्वप्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहिद भएका सम्पूर्ण योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएकाे छ।

जेन-जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै अहिले मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्नुभएकाे छ । बाढीबाट भएको पीडाको दुःखद् घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन तथा एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न उहाँले सबैमा आग्रह गर्नुभएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *